मोरङको बेलबारी नगरपालिका– ४ काकुम बुधबारेमा एक युवाले आफ्नी आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
बिहीबार ३१ वर्षीय जीवन लिम्बूले चुलोबाट इँटा निकाली प्रहार गर्दा ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
आमाको हत्या गरेपछि हतारहतार गरी जीवनले छिमेकीको भान्सामा छिरेर तरकारी काट्ने चक्कुले आफ्नो घाँटी रेटेको प्रहरी निरीक्षक ढकालले बताए ।
ढकालका अनुसार घाइते जीवनको उपचारका क्रममा सामुदायिक नोवेल अस्पताल बेलबारीमा मृत्यु भएको हो । जीवन लागुऔषध दुर्व्यसनकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
आमा–छोराबीच सामान्य झगडा हुँदा जीवनले इँटा प्रयोग गरेर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । लिम्बू अविवाहित हुन् ।