शनिवार एकैदिन देशका विभिन्न जिल्लामा ३ जनाले क्वारेन्टाइनमै ज्यान गुमाए । यी त उदाहरण मात्रै हुन् हालसम्म क्वारेन्टाइनमा बसेका २० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । आत्महत्या गरेर होस् या अन्य विविध कारणले, क्वारेन्टाइन बस्नेको मृत्यु हुनेको सङ्ख्या बढ्न थालेको छ ।
देशभर १ लाख १० हजार बढी मानिस क्वारेन्टाइनमा रहेका छन् । त्यही क्वारेन्टाइनमा बस्नेहरू अहिले विभिन्न व्यवस्थापकीय कमजोरीका जोखिममा परेका छन् । क्वारेन्टाइनमा क्षमताभन्दा बढी बस्नुपर्ने, आवश्यक सेवा सुविधा र औषधि उपचार समेत नहुँदा क्वारेन्टाइनमा बस्नेहरू जोखिममा परेका छन्,’ विज्ञहरू भन्छन् ।
करोनाभाइरसको जोखिम न्यूनीकरणका लागि गत चैत ११ बाट सुरु गरेको लकडाउन किस्ता किस्तामा थपिँदै आगामी जेठ ३२ सम्म पुगेको छ । भारतमा रोजगारी गुमाएर स्वदेश फर्कनेहरू धेरे सङ्ख्यामा क्वारेन्टाइनमा छन् ।
नेपालका अधिकांश क्वारेन्टाइनहरू मापदण्ड अनुसारका छैनन् । त्यहाँ बस्नेहरूको व्यवस्थापन र खानपानमा मुख्य समस्या छ । विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको समस्या भएको गुनासो आइरहेको छ । खानपानको कारण र त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछ्याएर भुईँमा सुत्नुपर्दा चिसोका बिरामीहरू झनै बिरामी भएर मृत्युको मुखमा पुगेका छन् ।
आइतबारको सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद तथा पूर्व मन्त्री लालबाबु पण्डितले यस विषयमा कुरा उठाए । ‘लम्बिँदो लकडाउनका कारण कोरोनाबाट मृत्यु हुने भन्दा पनि क्वारेन्टाइन बसेर आत्महत्या गर्ने धेरै छन्,’ उनले भने ‘ स्थानीय तहमा उचित क्वारेन्टाइन नहुँदा अकालमा त्यहाँ बस्नेहरूले ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।’
६५ हजार बेडमा १ लाख १० हजार कसरी अट्छन् ?
हालसम्म १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहँदा सरकारको आधिकारिक तथ्याङ्कमा ६५ हजारको हाराहारीमा मात्रै क्वारेन्टाइन बेड छन् । यसले क्वारेन्टाइनमा रहेकामध्ये आधाजसो चिसो भुईँमा सुत्न बाध्य रहेको देखाउँछ । तथ्याङ्क अनुसार लगभग ४५ हजार जति चिसो भुईँमै सुत्न बाध्य देखिन्छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर नेतृत्वको क्वारेन्टाइन अनुगमन र सहजीकरण समितिले सार्वजनिक गरेको प्रतिवेदनमा देशभर ६५ हजारको हाराहारीमा मात्रै क्वारेन्टाइन बेड रहेको उल्लेख गरिएको छ । ‘भारतबाट आउने नेपालीहरूलाई क्वारेन्टाइन नै पुगिरहेको छैन, अझै धरै आउँदै छन् । क्वारेन्टाइन व्यवस्थापन चुनौती बनिरहेको अवस्थामा खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई ल्याएर कहाँ व्यवस्थापन गर्ने भन्ने थप चुनौती छ,’ उनले नेपाल फ्ल्याससँग भने ।
विदेशबाट नेपाली ल्याउने काम सुरु भयो भने त क्षमताले धान्नै गाह्रो हुने धेरैको विश्लेषण छ । तर, समितिका संयोजक तथा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टाइन व्यवस्थापन गरिने बताएका छन् । उनले भने ‘केही स्थानमा समस्या देखिए पनि अधिकांश स्थानका क्वारेन्टाइनहरूको व्यवस्थापन सहज र व्यवस्थित पनि गर्न सकिन्छ । देशभरका होटेल तथा रिसोर्टहरूलाई पनि क्वारेन्टाइनस्थल बनाएमा सजिलो हुन्छ ।’
देशभर २० देखि ३० हजार होटेलका कोठाहरू रहेको र लज तथा रिसोर्टहरूका कोठाहरूसमेत प्रयोग गर्न सकिने मानन्धरको तर्क छ । मानन्धरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र सङ्क्रमणको जोखिम कम गर्नका लागि पनि होटलहरूमा क्वारेन्टाइन बनाउँदा उपयुक्त हुने बताए ।