काठमाडौं । लकडाउन टु लुजडाउन मोडालिटी अपनाएपछि गृहमन्त्रालय र मातहतको महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक–फरक विज्ञप्ति जारी गरेपछि सर्वसाधारण अन्योलमा परेका छन् ।
यातायात सञ्चालनका सम्बन्धमा उनीहरूले विज्ञप्तिमा उल्लेख गरिएका विषयले मोटरसाइकल चालकहरू अलमलिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले मोटरसाइलक, स्कुटी र मोपेडमा एकजना मात्र सवार हुन पाइने भनेको छ । त्यसैगरी, बुँदा नम्बर ६ मा जोर-बिजोर प्रणालीको कुरा गरिएको छ । त्यहाँ निजी चारपाङग्रे सवारीसाधन जोर-बिजोर प्रणालीमा रहेर चलाउन भनेको छ।
साथै, चालकबाहेक अन्य दुईजना मात्रै चढ्न पाउने कुरा उल्लेख गरिएको छ । यसको अर्थ मोटरसाइकलमा एकजना र निजी सवारीमा दुई जनाभन्दा बढी चढ्न नपाउने गरी जोर-बिजोर प्रणाली लागू भएको स्पष्ट हुन्छ । यसले मोटरसाइकलमा भने जोर-बिजोर प्रणाली लागू नहुने, तर एकजना मात्र सवार हुनुपर्ने भन्ने बुझिन्छ ।
यता महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक आशयको विज्ञप्ति जारी गरेको छ । बिहीबार राति १० बजे ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले मोटरसाइकललाई पनि जोर-बिजोर प्रणाली लागू हुने भन्दै त्यही सूचना जारी गरे । सोहीअनुसार विभिन्न मिडियालाई अन्तर्वार्ता दिए ।
तर, मन्त्रिपरिषद् बैठकले मोटरसाइकललाई जोर-बिजोर लाग्ने कि नलाग्ने भन्ने सम्बन्धमा स्पष्ट नबोले पनि मोटरसाइकल र साइकलमा एकजना मात्रै चढ्न मिल्ने व्यहोरा बुँदा नम्बर २ को (च) मा उल्लेख गरेको छ ।
त्यसैगरी, बुँदा नम्बर ६ मा जोर-बिजोर प्रणालीको कुरा गरिएको छ । त्यहाँ चालकबाहेक अन्य दुईजना मात्रै चढ्न पाउने कुरा उल्लेख गरिएको छ ।
यसको अर्थ मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने र निजी सवारीमा दुईजनाभन्दा बढी चढ्न नपाउने गरी जोर-बिजोर प्रणाली लागू भएको स्पष्ट छ ।
गृह र ट्राफिकको फरक-फरक विज्ञप्तिले मोटरसाइकल चालक कतै जोर-बिजोरको नियम पालना गरिरहेका छन् त कतै बेवास्था ।
काठमाडौं जिल्ला प्रशासन भन्छ, 'मोटर साइकलमा जोर-बिजोर छैन'
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि मोटरसाइकलमा जोर-बिजोर लागू नगरिएको बताए । उनका अनुसार मोटरसाइकललाई जोर-बिजोर लागू हुने कि नहुने भन्ने सम्बन्धमा अहिले कुनै निर्णय वा निर्देशन भएको छैन ।
उनले भने, ‘मोटरसाइकललाई जोर-बिजोर लाग्ने कि नलाग्ने भन्ने सम्बन्धमा कुनै निर्देशन दिएको छैन । मलाई गृहबाट थप स्पष्ट पार्दै सर्कुलर पनि आएको छैन । मन्त्रिपरिषद्को निर्णय हेर्दा मोटरसाइकललाई जोर-बिजोर नलाग्ने बुझिन्छ ।’
सुरक्षाकर्मीको दुई काम : नम्बर हेर्नु र मान्छे गन्नु
लकडाउनको मोडालिटी फेरिएसँगै शुक्रबार सडकमा ह्वात्तै सवारीसाधन देखिए । सार्वजनिक सवारी नखुलाए पनि सडकमा जाम हुनका लागि निजी गाडी र मोटरसाइकल पर्याप्त छन् । त्यसमाथि चारपाङ्ग्रे र दुईपाङ्ग्रेमा जोर-बिजोर नियम लागू गरिएको छ ।
शुक्रबार जेठ ३० गते जोर नम्बर भएका निजी सवारी मात्र चल्ने दिने । तर, सडकमा जोर-बिजोर दुवै नम्बर प्लेटका सवारी देखिएका छन् ।
जोर-बिजोर कार्यान्वयन गर्न ट्राफिक व्यवस्थापनमा जुटेका सुरक्षाकर्मीको सक्रियता दुई हिसाबले देखिएको छ । पहिलो, सक्रियता सवारीसाधनको नम्बर प्लेट जोर-बिजोर के हो हेर्ने । दोस्रो, सक्रियता चाहिँ तोकेभन्दा बढी सवार भएका छन् कि छैनन् हेर्नु । लकडाउनको नयाँ कार्यविधिअनुसार मोटरसाइकलमा दुईजना चढ्न निषेध छ । कारमा चालकसहित तीन जनाभन्दा बढीमा रोक लगाइएको छ । यो नियम उल्लङ्घन गर्ने सवारीसाधन सडक किनारामा पार्किङ गराइएको छ ।
उपत्यका बाहिर जान–आउन नमिल्ने
सङ्क्रमणको जोखिम कम भएका जिल्लामा शुक्रबरबाट निजी सवारीसाधन गुड्न पाउने नियम बनाए पनि एकअर्को जिल्लामा भने आवत -जावतमा रोक लगाइएको छ । निजी सवारीसाधनले जोर-बिजोर प्रणालीमा चलिरहेका छन् । तर, उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरभित्र मात्रै जान पाउनेछन् ।
यी तीन जिल्ला छोड्न वा उपत्यका आउन भने पाइने छैनन् । सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट वा कुनै जिल्ला जान चाहने हो भने पाइँदैन । यस्तै, अरू जिल्लाको हकम त्यो जिल्ला छाड्न वा अन्तबाट त्यहाँ जान नपाइने नियम छ ।