काठमाडौंमा सरकारको कामकारबाहीविरुद्ध भइरहेको युवाहरूको प्रदर्शन काठमाडौंबाहिर पनि विस्तारित भएको छ ।
कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा सरकार असफल भएको भन्दै शुक्रबार काठमाडौं उपत्यकाका ठाउँ–ठाउँमा प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारसहित अहिले कलंकी, जडीबुटी, सूर्यविनायक, वसन्तपुर, चितवन, रुपन्देही पोखरालगायत विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भएका छन् ।
चार दिनअघि सुरु भएको प्रदर्शन बढ्दै गएको छ । शुक्रबारको प्रदर्शनमा दुई हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए । उनीहरूले बोकेका प्लेकार्डमा सरकारको विरोध गरिएको नारा लेखिएका थिए । लकडाउन गरिएको करिब तीन महिनामा पनि सरकारले प्रभावकारी तवरले काम गर्न नसकेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, सबैको पिसिआर परीक्षण गरिनुपर्ने, आरडिटी परीक्षण रोक्नुपर्ने, सरकारबाट भएका फजुल खर्च रोक्नुपर्ने, कोरोना नियन्त्रणमा खर्च गरिएको १० अर्ब रुपैयाँको हिसाब सार्वजनिक गरिनुपर्नेलगायतका माग राखेका छन् ।
उनीहरूले ठाउँठाउँमा सरकारविरुद्ध नाराबाजी पनि गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्रमा नाराजुलुस हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । बिहीबारको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरे पनि शुक्रबार भने त्यस्तो गरेन । केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई शुक्रबार साँझ नै छोडिएको छ ।