काठमाडौंको हाँडीगाउँमा ऐतिहासिक सत्तल पुनर्निर्माणको शिलान्यास भएको छ । शनिबार नेकपा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद नारायण सिलवालले सत्तलको शिलान्यास गरेका हुन् । प्राचीन समयदेखि नै पाटी र सत्तलहरू जनजीवनको अभिन्न अङ्ग भइसकेका थिए । २०७२ सालको भूकम्पले सत्तल जीर्ण भएपछि सांसद सिलवालको पहलमा पुनर्निर्माण हुन लागेको हो ।
संरक्षणको पर्खाइमा रहेको सत्तलको प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको लागतमा पुनः निर्माण हुन लागेको हो । स्थानीय सम्पदा जर्गेनाका लागि पुनर्निर्माण गर्न जनस्तरबाट माग भएबमोजिम सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद सिलवालकै पहलमा निर्माण गरिन लागिएको हो । उक्त सत्तलमा नेवार समुदायका प्रजापतिले प्रत्येक वर्ष दियाली पूजा गर्दै आएकाले यसलाई निरन्तरता दिन लागिएको सांसद सिलवालले बताए ।
शिलान्यास कार्यक्रममा, काठमाडौं ५ का वडाध्यक्ष, रमेश डङ्गोल, पूर्ववडाध्यक्षहरु सूर्यलाल प्रजापति, शम्भुबहादुर खड्का, नेकपा नेता वीरेन्द्र प्रजापति, गणेश श्रेष्ठ, सुशीला प्रजापतिलगायतको उपस्थिति थियो ।
केही समयको विश्रामको लागि बनाइएको विश्रामस्थललाई फल्चा (पाटी) र खानासमेत पकाउन मिल्ने वा रातमा बस्नै मिल्नेगरी बनाइएको विश्रामस्थललाई सत्तल भन्ने गरिन्छ । सत्तलहरू प्रायः दुई वा दुईभन्दा बढी तलाका हुन्छन् । अहिले यही पार्टी र सत्तलको प्रयोजन बदलिएको छ ।
यस्ता सत्तलहरू २०७२ सालको भूकम्पमा धेरै क्षतिग्रस्त भए । केही पुनर्निर्माण भइसकेका छन् । केही पुनर्निर्माणकै क्रममा छन् ।
पहिले यस्ता पाटी एवं सत्तलहरू पाटी भोज गर्ने एवं दिनभरिको कामबाट फर्किएपछि छिमेकीसँग सुख दुःखको कुराकानी गर्ने विश्रामस्थलको रूपमा प्रयोग हुन्थे । ‘अहिले ज्येष्ठ नागरिकहरूको दिन बिताउने सहारा बनेको छ,’ प्रदेश सांसद सिलवाल बताउँछन् । ‘सत्तलमा भेटिएकाहरूलाई सोध्ने हो भने घरभन्दा पनि सत्तल र पाटी प्यारो हुने गरेको सुनाउने गरेका छन्,’ सांसद सिलवाले स्थानीयसँग गरेको कुराकानीको अनुभव सुनाए ।