माथिको घटना विवरण हेर्दा क्वारेन्टाइनमा कोही पनि सुरक्षित देखिँदैनन् । यी घटना त प्रतिनिधि उदाहरण मात्रै हुन् । मुलुकका हालसम्म १९ जना कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भए पनि त्यो भन्दा दशौँ गुणा बढीले खराब क्वारेन्टाइनकै कारण मृत्युवरण गर्नुपरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणमा हालसम्म सरकारले झन्डै १० अर्व रुपैयाँ खर्च गरेको जनाएको छ ।
तर माथिको घटना विवरण हेर्दा न त गतिलो क्वारेन्टाइन, नत महिलामैत्री र सुरक्षित नै । नत दीर्घ रोगी तथा ज्येष्ठ नागरिकले सहज रूपमा बस्न पाउने खालका छन् । गर्भवती महिला र बालबालिका को त कुरे छाडौँ, उनीहरू झनै जोखिममा परेका छन् । सरकारका अनुसार क्वारेन्टाइनमा मात्रै १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । तर दीर्घ रोगी तथा ज्येष्ठ नागरिक चिसो भुईँमा सुत्न बाध्य छन् । परिणाम स्वरूप उनीहरू मर्न बाध्य छन् । जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार खर्च भएको भनिए पनि धेरै जनाको मरिसकेपछि मात्रै कोरोना पोजेटिभ भेटिएको छ ।
धरै ठाउँका क्वारेन्टाइनका मानिसहरू कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएका छन् । पटक पटक वान्ता गर्ने, सास फेर्न कठिनाइ हुने, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै पनि क्वारेनटाइनमा नियमित निगरानी नराखिएको पाइएको छ । तिनीहरूलाई अस्पताल लैजानुपर्ने सामान्य दायित्व पनि निवार्ह नगरिएको पाइएको छ । क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, धेरै क्वारेन्टाइनमा त्यो एम्बुलेन्स नभएकैले मानिसहरूले अमूल्य जीवन खेर फाल्न बाध्य छन् ।
नेपालमा कोरोनाको पहिलो सङ्क्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेनटाइनमा लापरबाही हुनु सरकार कोरोना नियन्त्रणमा असफल जस्तै बनेको धेरैको टिप्पणी छ। सरकारको कामकारबाहीलाई नजिकबाट हेर्नेहरू भन्छन् ‘अव्यवस्थित स्थितिदेखि परीक्षण ढिलाइसम्म देखिएको छ, स्वास्थ्य सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही छ।’