काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुला प्रस्थान गरेका छन् ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि थापा र खनाल दार्चुला प्रस्थान गरेका हुन् ।
गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।
सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो ।
दुवै युनिट निरक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनीहरु धनगढीबाट सेनाकै हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जान लागेका हुन् ।
दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा र सीमाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखसँग जानकारी लिनेछन् ।