अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् ।
नगरपालिका वडा नं. ५ स्थित हरि माविको क्वारेन्टाइनमा रहेका सोही वडाका ४३ वर्षीय पुरुषले बुधबार बिहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए ।
बिहान ३ बजेतिर आफूसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको बुढाथोकीले जानकारी दिए । उनी क्वारेन्टाइनमा रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।
गत जेठ १० गते भारतबाट आएर क्वारेन्टाइन बस्दै आएका उनको आरडिटी परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भए पनि पिसिआर रिपोर्ट भने आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।
जेठ २६ गते पिसिआर परीक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भए पनि उनको रिपोर्ट अझैसम्म आइनपुगेको अधिकारीले जानकारी दिए ।
पिसिआर रिपोर्ट नआइपुगेको कारण अहिले पनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ । नगरप्रमुख अधिकारीले स्वावको रिपोर्ट नआउँदासम्म शव त्यतिकै रहने बताए।