काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृतसहित ६ जना कर्मचारीलाई घुस लिँदा लिँदै एकै पटक पक्राउ गरेको छ।
घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका वडा नं ९ सामाखुशी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट ८ लाख ५० हजार रकमसहित मालपोतक कार्यालयका ६ जना कर्मचारी पक्राउ परेका हुन् ।
उनीहरुलाई असार २ गते अख्तियारको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा डिल्लिबजार मालपोत कार्यालयका अधिकृत रघुवंश कंडेल, नासु क्रमश उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाल रहेका छन्। मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले पछ्याएको थियो ।
अख्तियारले पहिलोपटक एकै कार्यालयका यति धेरै कर्मचारी पक्राउ गरेको हो । अख्तियारले गर्ने स्टिङ अप्रेसनमा एक दुईजना कर्मचारी पक्राउ पर्ने गरेका थिए । यो पटक एउटै कार्यालयका ६ जना पक्राउ परेका हुन् । मालपोत कार्यालय सुरु नहुँदै उनीहरु यसरी पक्राउ परेका हुन् ।