विद्युत निमयन आयोगले विद्युतीय सवारी चार्जिङमा लाग्ने विद्युत् महशुल तोकेको छ । आयोगले नयाँ महशुल निर्धारण गरेसँगै चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दा लाग्ने शुल्क बारेको अन्योलता सकिएको छ ।
आयोगले चार्ज गर्ने समय, भोल्टेज, महिना लगायतलाई आधार मानेर शुल्क निर्धारण गरेको हो । आयोगको अनुसार चार्जिङ स्टेसन सञ्चालकले सेवा दिएबापत अधिकतम २० प्रतिशतसम्म मात्र थप गरी महशुल लिन पाउने जनाएको छ । हालसम्म विद्युतीय गाडी चार्ज गरेर शुल्क लिन पाउने व्यवस्था थिएन ।
तल्लो भोल्टेजस्तर (२३० देखि ४०० भोल्ट) सम्मको लागि चार्जिङ स्टेशनमा मासिक डिमान्ड शुल्क प्रतिकेभिए २०० र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ९० पैसा आयोगले निर्धारण गरेको छ । माथिल्लो भोल्टेज स्तरको मझौला भोल्टेज (३३ केभी) को लागि मासिक डिमान्ड शुल्क प्रतिकेभिए २३० र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ५ रुपैयाँ ६० पैसा लाग्नेछ ।
यसैगरी, ११ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ मासिक डिमान्ड शुल्क प्रतिकेभिए २ सय ५५ र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ८० पैसा तय भएको छ । टिओडी मिटर प्रयोग गर्ने चार्जिङ स्टेसनको हकमा ३३ केभीको डिमाण्ड शुल्क २ सय ३०, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ, राति ११ देखि बिहान ५ बजेसम्म ३ रुपैयाँ ७० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ५० पैसा लाग्ने व्यवस्था गरिएको छ ।
टिओडी मिटर अन्तर्गत ११ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेसनको लागि डिमाण्ड शुल्क २३०, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ १५ पैसा , राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ २० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ६० पैसा तोकिएको छ । तल्लो भोल्टेज (२३०-४०० भोल्ट) को लागि डिमाण्ड शुल्क २००, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ २५ पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ३० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ७५ पैसा शुल्क लाग्ने भएको छ ।
त्यस्तै, आयोगले पुसदेखि चैत महिनासम्मको ३३ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेसनको डिमाण्ड शुल्क २३० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।
त्यस्तै पुसदेखि चैत महिनासम्मको ११ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनको डिमाण्ड शुल्क २३० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ १५ पैसा र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ । पुसदेखि चैत महिना सम्मको तल्लो भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनले डिमाण्ड शुल्क २०० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ २५ पैसा र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ७५ पैसा लाग्ने छ।
सार्वजनिक यातायातको हकमा डिमाण्ड शुल्क नलाग्ने उपभोक्ता (अटोम्याटिक स्वाप कार्ड उपयोगकर्ता) सार्वजनिक यातायातको चार्जिङ स्टेशनको हकमा बैशाखदेखि मंसिरसम्म ३३ केभीको इनर्जी शुल्क प्रतिकिलोवाट बिहान ५ देखि राति ११ बजेसम्म ८ रुपैयाँ ४० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ९० पैसा तोकेको छ।
११ केभी प्रयोगकर्ता चार्जिङ स्टेशनको हकमा इनर्जी शुल्क प्रतिकिलोवाट बिहान ५ देखि राति ११ बजेसम्म ८ रुपैयाँ ६० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ। त्यस्तै अन्य भोल्ट अनुसारका बेग्लाबेग्लै शुल्क तोकिएको छ।