टेण्डरको विषयमा झडप भएपछि दैलेखको आठबिस नगरपालिकामा एकजना घाइते भएका छन् । बिहीबार बिहान ११ बजे नगरपालिकामा स्वास्थ्यको भवन बनाउन टेण्डर दर्ता गर्ने बेलामा झडप भएको हो । झडप हुँदा एक जनाको टाउकोमा चोट लागेको नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले जानकारी दिए ।
'स्वास्थ्यको भवन निर्माण गर्न टेण्डर दर्ता गराउन लाग्दा हानाहान भएको हो, 'प्रमुख उपाध्यायले भने,'एक जनाको टाउकोमा चोट लागेको छ । घाइतेको परिचय भने अझै खुलेको छैन ।'
घाइतेको मेडिकलमा उपचार भइरहेको उनले जानकारी दिए । साथै, टेण्डर पनि तीन दिनका लागि स्थगित गरेको उनले बताए । वडा नम्बर ४ मा रहेको नगरपालिकाको भवन अगाडि अहिले करिब २०० जना मानिस भेला भएको उनले जानकारी दिए ।
'अहिले अन्दाजी २०० जना मान्छेहरू भेला भएका छन्,'उनले भने,'नाराबाजी गरिरहेका छन् । मभित्र बसिरहेको छु ।'एकाएक झडप भएपछि के कारणले झडप भएको भन्ने खुलिनसकेको उनले बताए ।
'दर्ता गर्न नै नदिई हानाहान भयो। उहाँहरूको माग के हो भन्ने पनि खुलिसकेको छैन,'उनले भने,'अहिले प्रहरीलाई बोलाएको छु। त्यसपछि छलफल गर्छौं ।' नगरपालिकाको वडा नम्बर ३, ७ र ९ मा स्वास्थ्य भवन बन्न लागेको हो ।