मंसिर ०७, २०८१, शुक्रबार
               

ज्यान मार्ने उद्योगमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

सप्तरी । कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ । अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा–१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएका हुन् ।
    
प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनका दाजुभाइले बाँसको भाटासहित घरेलु हतियारले आइतबार आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै रामशरणले उजुरी दिएको बताइएको छ ।

आक्रमणमा परी रामशरणका भाइ ३४ वर्षीय कालीचरणको टाउको फुटेर गम्भीर घाइते भएका छन् । घाइते कालीचरणलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले उपचार गर्न नसकी रेफर गरेपछि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको छ । विराटनगरमा उहाँको चिन्ताजनक अवस्थामा उपचार भइरहेको श्रीमती रामसुन्दर देवीले बताइन् । 

कालीचरणलाई जोगाउन जाँदा घाइते भएकी कालीचरणकी भाउजू अडहुलियादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामलखन र रामशरणको सँगै जोडिएको जग्गाको साँधमा रहेको ऐलेनी जग्गाको भोगका विषयमा दुवै पक्षबीच लामो समयदेखि विवाद रहेको स्थानीय बलराम यादवले बताए ।

विवादित जग्गामा कसैले घर नबनाउने गाउँलेको निर्णय भए पनि आरोपितले मौका छोपी जबर्जस्ती घर बनाउन लागेको र ऐलानी जग्गा खाली राख्नु पर्छ भन्दा बाँसको भाटासहित घरेलु हतियारले आक्रमण गरेको उनले बताए । 
    
तर, उक्त घटनाका बेला आफू नरहेको प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताएका छन् । यता घटनाका प्रत्यक्षदर्शी हरिनारायण यादवले भने घटनाका बेलाको तस्विर देखाउँदै अधिकृत यादव घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि