हेटौँडा । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।
यसैबीच हेटौँडा–११ नवलपुरकी सुस्तमनस्थिति भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजिकैको मकैबारीमा लगी ५० रुपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।