गोरखामा थप ११ जनामा कोरोना संक्रमित थपिएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाका भित्रका व्यक्तिहरुमा कोरोना भेटिएको हो ।
जसमध्ये भिमसेन थापा गाउँपालिकाका ५, गण्डकी गाउँपालिकाका ३ र सहिद लखन गाउँपालिकाका ३ जना रहेका छन् । संक्रमितहरुको पहिचान खुल्न भने बाँकी रहेको छ ।
यो संगै गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । त्यसमध्ये ८ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
सोमबार पुष्टि भएका ११ संक्रमितमध्ये जिल्लाको भिमसेन थापा गाउँपालिकास्थित प्रभात मावि धावाको क्वारेन्टइनमा रहेका ४ जना र सिद्दी काली मा बि तान्द्राङ क्वारेन्टइनमा १ जना रहेको खुल्न आएको छ ।
त्यस्तै, सहिद लखन गाउँपालिका–३ जनामा वडा नम्बर–६ घैरुङस्थित श्री भगवती हिमालय माविको सामूहिक क्वारेन्टाइमा रहेका २ जना र वडा नम्बर ४ श्री महारुद्र आधारभूत विद्यालय ताक्लुङको क्वारेन्टाइमा रहेको १ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।
गण्डकी गाउँपालिकास्थित ताङ्लिचोक मावि, भैरवाश्रम मावि र दीर्घेश्वर मावि क्वारेण्टाइनका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा गण्डकी गाउँपालिकाका १८, ३१ र १९ वर्षका पुरुष, भिमसेन थापा गाउँपालिकामा २० र २५ वर्षीया २ जना रहेका छन् ।