बलेवा । राष्ट्रिय समाचार समिति (रासस) का गलकोट प्रतिनिधि तथा धौलागिरि जागरण दैनिकका सहसम्पादक खेमराज गौतम (सुवास) पुरस्कृत भएका छन् ।
बागलुङ नगरपालिकाले सातौँ नगरसभाको तेस्रो बैठकमा गौतमलाई बागलुङ नगरको विकासमा योगदान पुर्याएको भन्दै नगदसहित पुरस्कृत गरेको हो ।
गौतमलाई ३० हजार रुपैयाँ नगद र दोसल्ला ओढाएर नगर प्रमुख जनकराज पौडेलले पुरस्कृत गरे ।उनिसँगै कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बागलुङ नगरपालिका–१ रामरेखाका वडासदस्य सूर्य लामिछानेलाई पनि पुरस्कृत गरिएको छ ।
उनलाई रु ३० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको हो । नगरपालिकाले नगरका गतिविधिमा आधारित वर्षभरिका समाचारका आधारमा पत्रकार पुरस्कृत गर्ने गरी ‘विकास पत्रकारिता कोष’ स्थापना गरेको छ । सोही कोषमार्फत गौतमलाई पहिलो पटक पुरस्कृत गरिएको हो ।