म्याग्दी । म्याग्दीको पहिरोमा बेपत्ता भएकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् ।
बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो ।
धवलागिरि गाउँपालिका–६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ ।
मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् ।
शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो ।
अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् ।
धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो ।