राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मतीलगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । विगत हप्ताभन्दा पशुपति क्षेत्रमा फोहर कम भेटिएको उनले जानकारी दिए । असार १ गतेपछि पशुपति क्षेत्रमा सफाइको काम हुन थालेको जनाइएको छ ।
यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइका क्रममा सडक किनारका फोहर निकाल्नाका साथै फोहरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
सफाइमा अभियानकर्मीका साथै हनुमान टोल विकास समितिका पदाधिकारी एवं सदस्यको पनि सक्रियता थियो । अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा वाग्मती किनारा र हनुमान वाटिका क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो । सफाइमा प्रिया लामिछाने, रामप्रसाद पन्थीलगायत अभियानकर्मी पनि सक्रिय हुनुभएको जनाइएको छ ।
यसैगरी गुह्येश्वरी माथिको वाग्मती, चक्रपथको उत्तरी खण्ड, गोदावरी खोला, रुद्रमती, विष्णुमती, चक्रपथको पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । राजधानीमा ढलमा पनि कोरोना भेटिएको भन्ने हल्लाका कारण पनि आजको सफाइ बढी सजगता अपनाइएको हो ।
सफाइ स्थलभन्दा टाढाका अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा चेतनामूलक अभियानसहित सफाइ अभियानलाई निरन्तरता दिएका छन् । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि उपत्यकामा यसका विभिन्न खण्डसहित सहायक नदी, चक्रपथका उत्तर र पश्चिम खण्डलगायत स्थानमा सफाइ अभियान सुरु भएको हो ।