काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोेमा परेर काठमाडौंमा एक युवकको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ आएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।
साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए ।
उनी खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको मृत्यु भएको बताइएको छ ।
'पहिरोले थिचेपछि उनी चिच्याइरहेका थिए, उनलाई १० मिनेटमा निकालिएको थियो । त्यसबेलासम्म उनको ज्यान गइसकेको रहेछ', वडाध्यक्ष मुकुन्द गजुरेलले भने ।
नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएको नगरपालिका प्रमुख (मेयर) कृष्णहरि थापाले जानकारी दिए ।