दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो ।
पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
लक्ष्मीका छोरा सुभम बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।
घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।