मंसिर ०७, २०८१, शुक्रबार
               

मुग्लिन–नौबिसे सडकको पहिरो पन्छाउने काम तीव्र

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

चितवन । राजधानी काठमाडौंसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इ कृष्णराज अधिकारीका अनुसार मौवा खोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ । विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो । दिनभर ४२ जना मजदूरले पर्खाल लगाउने काम गरेका थिए । दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उनले जानकारी दिए । आज बिहान सबेरैदेखि कामलाई निरन्तरता दिइएको छ । 

नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भने, ‘थप पानीले समस्या नवनाएमा शुक्रबार दिउँसोसम्ममा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउँछौँ ।’ सो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी पहिरा खसेका थिए । ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको छ ।

ठाउँ–ठाउँमा एकतर्फी सडक खुलाइएको छ । ती ठाउँमा मालबाहक ट्रक अव्यवस्थित ढङ्गले पार्किङ हुँदा काममा अप्ठ्यारो भएको उनले बताए । यता नारायणग–मुग्लिन सडकखण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक विभागले हालका लागि राजधानी काठमाडौं जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ । धेरै दिनसम्म राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक र मालबाहक सवारी प्रभावित बनेका छन् । यही साउन ४ गतेबाट देशैभर अविरल वर्षा भइरहेकोमा बुधबार दिउँसोबाट यस क्षेत्रमा वर्षा कम हुँदै आएको छ । 

यो पनि