सप्तरी । अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।
बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार बिहानदेखि सुरु भएको छ ।
विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो ।
आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।
उनका अनुसार उनीहरु सबैलाई राजविराजस्थित एक होटेलको क्वारेन्टाइनमा राखिएको छ ।
राजविराज–६ निवासी ७२ वर्षीय वृद्धको मृत्यु भएपछि उनको पसलमा काम गर्ने दुई जना कामदार पनि संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित एकजना कामदारकी पत्नी पनि संक्रमित भइन् ।
उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत भएका कारण अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मीको स्वाब संकलन गरी जाँच गर्दा विष खाएका व्यक्तिमा पनि संक्रमण देखिएको थियो ।