काठमाडौं । केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा एक जनाले उजुरी दिए। उनले आफूलाई ठगले झुक्याएर ३ लाख ५० हजार रुपैयाँ लगेको उजुरीमा उल्लेख थियो। ठगी गर्ने मानिसको नाम र हुलियासमेत टिपाए।
नाम - अनिल विक्रम भनिने अनिल वली
ठेगाना - रुकुम वाफिकोट गाउँपालिका वडा नम्बर ३
उमेर - अन्दाजी २४ वर्षीय
उनी हाल काठमाडौंको टोखा नगरपालिकाको महादेवटारमा डेरा गरिबस्दै आएका थिए। उजुरीपछि प्रहरीले युवकको खोजी थाल्यो। केही दिनमा युवकलाई प्रहरीले कीर्तिपुरको भत्केकोपाटीबाट समात्न सफल भयो। युवकले पीडितबाट पटकपटक गरेर ३ लाख ५० हजार रुपैयाँ लिएको देखियो। त्यसपछि प्रहरीले थप अनुसन्धान सुरु गर्यो।
त्यसपछि थाहा भयो उनले यसरी नै ठगी गर्दै हिँड्ने रहेछन्। 'विभिन्न मानिसलाई विभिन्न तरिकाले ठगी गरहेको देखिन्छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।
प्रहरीले युवकको साथबाट बरामद गरेको कागजपत्रले थप ठगी धन्दाको पर्दाफास गरेको थियो। वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको कार्ड, कीर्तिपुर नगरपालिकाको राजश्व संकलन पत्र र कबाडी संकलन विवरण, जनगणना २०७७ लेखिएको कागज, प्रतिबन्धित नेकपा विप्लव समूहको आर्थिक सहयोग गरिदिने पत्रहरू, सोही समूहको सदस्यता रसिद, सोही समूहको कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगायतका कागजातहरु समेत बरामद भएको छ।
प्रहरीले बरामद गरेका सरकारी कागपत्र सबै नक्कली रहेछन्। तिनै नक्कली कागपत्र देखाएर रकम समेत उठाएको एसएसपी ज्ञवालीले जानकारी दिए। 'उसले राजश्वको कर्मचारी भन्दै सडकका केही साइकलमा राखिएका व्यापारीबाट पैसा लिने समेत गरेको खुल्छ,' एसएसपी ज्ञवालीले भने।
उसले अरु पनि मानिसलाई ठगी गरेको हुनसक्ने भएकाले अनुसन्धान गरिरहेको छ ।