रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काम विशेषले काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउँदा राजदेवी नगरपालिका-८ का वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो ।
शनिबार करेन्ट लागेर उनकी श्रीमतीको मृत्यु भएको थियो । अन्तिम संस्कारमा सयभन्दा बढी व्यक्तिहरु वडाध्यक्षसँगै गएका थिए ।
त्यसअघि करेन्ट लागेर घाइते भएकी श्रीमतीलाई जिल्ला अस्पताल गौरमा समेत आफै उपस्थित भएर उनले उपचार गराएका थिए ।
वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको राजदेवी नगरपालिका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिए । वडा अध्यक्षमा अन्य रोग समेत रहेकाले उपचारको लागि काठमाडौं पठाइने बताइएको छ ।
संक्रमितसँग सम्पर्क भएका केही जनप्रतिनिधि तथा स्थानीय व्यक्ति आआफ्नै घर क्वारेन्टाइनमा बसेका छन् ।
संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको पहिचान गरी स्वाब संकलनको काम सुरु गराएको रौतहटका सिडिओ वासुदेव घिमिरेले जानकारी दिए ।