साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्दा भक्तजनहरुले बाहिरैबाट दर्शन गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि सो मन्दिर पनि बन्द गरिएको थियो । धेरै भीड हुने क्षेत्र भएकाले सङ्क्रमण जोखिम बढ्ने भन्दै बन्द गरिएको पशुपतिनाथको मन्दिर नखुल्दा भक्तजनहरुले मूल गेटमा पूजा गरेर फर्किएका छन् ।
लकडाउन हटेपछि अरू क्षेत्र खुला भए पनि मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने सरकारको नीतिअनुसार पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए ।
यसअघि साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।
मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका छन् । विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले पनि विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका छन् ।