काठमाडौं । लकडाउन खुकुलो भएसँगै खुल्न थालेको महाबौद्ध बजार आजबाट फेरि बन्द भएको छ। प्रधान कम्पलेक्स अगाडि व्यापार गर्दै आएका पाँच जनामा कोभिड १९ संक्रमण देखिएपछि बजार नै बन्द गरिएको हो ।
लकडाउन खुलेपछि संचालनमा आएको बजारमा लकडाउन अन्त्यसँगै भीड बढेको थियो। संक्रमित भेटिएसँगै महाबौद्ध पुन: सुनसान देखिएको छ ।
करिब २० दिन अघि भारतको सितापुरबाट आएका दुईजनामा कोरोना संक्रमण देखिएको थियो । भारतबाट आएर व्यापार संचालन गरेका उनीहरुमा संक्रमण देखिएसँगै लकडाउन खुलेपछि व्यस्त रहको बजारमा त्रास फैलिएको छ । काठमाडौं फर्किएको केहीदिनपछि टाउको दुख्ने , श्वास प्रश्वासमा समस्या आएपछि उनीहरु कोरोना परीक्षणका लागि टेकु पुगेका थिए । परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
दुई जनामा संक्रमण देखिएपछि गरिएको परीक्षणमा उनीहरुका बुबा र आमामा समेत संक्रमण देखिएको थियो । साथै पसलमा काम गर्ने कामदारमा समेत कोभिड १९ पोजेटिभ देखिएको थियो ।
शनिवार नै वडा २७ ले पसलहरु बन्द गर्न आग्रह गरे पनि व्यापारीले आइतवार पसल खुल्ला राखेका थिए । परिवारका अन्य सदस्यसहित कामदारमा समेत संक्रमण देखिएपछि वडाले प्रहरी र अन्य सरोकारवाला निकाय संग छलफल गरेर बजार बन्द गराएको हो ।