बर्दिया । बर्दियाको क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
ती पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । ती आफन्तले क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनी बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।
आइतबार राति आफूले ओछ्याउने तन्नाको पासो लगाई उनले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिए ।
उनको शव सेनाले व्यवस्थापन गरेको छ ।