वीरगन्ज । पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा चिकित्सक, सेना, प्रहरी र कारागारका कर्मचारीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दिएको जानकारीअनुसार नारायणी अस्पतालमै कार्यरत एक चिकित्सकसहित एक सैनिक, २ प्रहरी र २ जना कारागारका कर्मचारीलगायत थप ३४ जनामा कोरोना संक्रमण देखिएको हो । साथै संक्रमितमा ६ कैदीबन्दी पनि छन् ।
संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुष छन् ।
२० जना वीरगन्जका मात्रै हुन् । उनीहरू वीरगन्ज महानगरपालिका वडा नम्बर ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् ।
कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेका छन् ।
संक्रमण पुष्टि भएका व्यक्ति अहिले कोही घरमै त कोही सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा छन् ।