काठमाडौं । अब निजी अस्पतालले कोरोना भाइरसको उपचार गरेबापत बिरामीसँग दैनिक १५ हजार रुपैयाँसम्म लिन पाउने भएका छन् ।
सरकारले कोरोना भाइरसको उपचार गरेबापत सरकारले १५ हजार रुपैयाँ लिन पाउने निर्णय गरेसँगै निजी अस्पताललले अब सो रकम लिन बाटो खुलेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जटिल अवस्थाका बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार रुपैयाँसम्म लिन पाउने निर्णय गरेको बताए ।
सरकारको निर्णयअनुसार निजी अस्पतालले उपचार गर्दा संक्रमित सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय, मध्यम जटिल खालको भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँ नबढाई लिन पाउने भएका हुन् ।
कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पताल तोकेको बताउँदै उनले यीबाहेक अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउने बताइएको छ ।