पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
बिहीबार गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १-१ जना संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन ।
गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर उनको पनि वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ २५ र २५ वर्ष उमेरका छन् । उनीहरु हुप्सेकोट गाउँपालिकाका भए पनि वडा नम्बर खुलेको छैन ।
यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा २२ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।