वीरगन्ज । वीरगन्जमा थप ४३ जानमा कोरोना भाइरस (केभिड–१९) संक्रमण पुष्टि भएको छ ।
थपिएका ४३ संक्रमितमध्ये एक जना चिकित्सक र ११ जना नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पिसिआर परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये रौतहट मौलापुरका एक जना र बारा देवतालका एक जना रहेका छन् । ४३ जनामध्ये ६ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये पाँच जनामा ज्वरो र खोकीको लक्षण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।
अस्पतालको शल्यक्रिया विभागका एक कर्मचारी र कर्मचारीको परिवारका अन्य दुई जनामा समेत संक्रमण देखिएको उपाध्यायले बताए ।
यसैबीच, इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
साउनयता पर्सामा पाँच सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।