काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ४२५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना मुक्त (डिस्चार्ज) हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ ।
शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका मात्रै ९२ जना छन् । त्यस्तै ललितपुरका १० जना र भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । हाल ६ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा सात हजार ९२६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म चार लाख २७ हजार ९२६ जानको पिसिआर परीक्षण भइसकेको छ ।
हाल देशभर १० हजार २०७ जना क्वारेन्टाइनमा छन् भने ६ हजार ३३० जना आइसोलेसनमा छन् ।
त्यसैगरी ६६ जना कोरोना संक्रमितको आइसियूमा उपचार भइरहेको छ भने, तीन जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भइसकेको छ ।