काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको लक्षणसहित बिरामीहरुको संख्या बढ्दै गएको छ । साथै मृत्यु हुनेको संख्या पनि बढेको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गम्भीर खालका बिरामी बढेपछि आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था आएको जानकारी दिए ।
प्रवक्ता गौतमले अहिले कोरोनाको लक्षणसहित ६६ गम्भीर बिरामीलाई आइसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बताए ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
प्रवक्ता गौतमले थप ४२५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना मुक्त (डिस्चार्ज) हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
हाल ६ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा सात हजार ९२६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म चार लाख २७ हजार ९२६ जानको पिसिआर परीक्षण भइसकेको छ ।
हाल देशभर १० हजार २०७ जना क्वारेन्टाइनमा छन् भने ६ हजार ३३० जना आइसोलेसनमा छन् ।
नेपालमा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भइसकेको छ ।