कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय संक्रमित हुनसक्ने आँकलन गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय संक्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सरकारले खेलेको प्रभावकारी कदमका कारण त्यति ठूलो सङ्ख्यामा संक्रमित हुन पाएनन् । आजको दिनसम्म ६ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्घ, प्रदेश र स्थानीय तह तथा आम नागरिकले कोभिड– १९ नियन्त्रण गर्न खोलेको प्रभावकारी कदमकै कारणले अनुमान गरिएको सक्रिय संक्रमितलाई सीमितमा राख्न सकिएको बताए ।
सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र गठन गरेको छ । सङ्घमा एउटा र प्रत्येक जिल्लामा जिल्लास्तरीय केन्द्र गठन भएको छ । त्यो केन्द्र पनि कोभिड– १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । यस्तै नेपालमा चैत ११ गते बन्दाबन्दी, सरकारको प्रभावकारी कदम, स्थानीय तह गर्दा अनुमान गरेजस्तो संक्रमित बढ्न नपाएका हुन् । साउन ६ गतेसम्म भएको बन्दाबन्दीमा नागरिकले घरभित्र बसेर कोभिड– १९ को रोकथाम र नियन्त्रणमा भूमिका खेलेका थिए ।
यस्तै स्थानीय तहले विदेशबाट आउने मानिसको तथ्याङ्क सङ्कलन गरेर क्वारेन्टाइन निर्माण गरी उनीहरूलाई १४ दिनसम्म त्यहाँ राखेका थिए । त्यसले पनि रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबैको सहयोगले प्रक्षेपण गरिएको भन्दा कम संक्रमित रहेको बताए ।
“हामीले सोचेभन्दा कम संक्रमित रहेका छन् । तर कम संक्रमित भयो भन्दैमा हामी जोखिम हटेको भन्न मिल्दैन”, उनले भने, “हामी जोखिममा नै छौँ । कोभिड– १९ रोकथाम र नियन्त्रण गर्न अझै प्रभावकारी कदम चाल्नुपर्दछ ।” सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि देशभरमा २५ कोभिड– १९ अस्पताल ‘डेडिकेटड’ र ११५ कोभिड– १९ क्लिनिक सञ्चालन गरेको थियो ।
नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका विद्यार्थीमा संक्रमण देखिएको थियो । नेपालमा पहिलो संक्रमितको कोभिड– १९ को पुनःपरीक्षण गर्न विदेश लगिएको थियो । त्यतिबेला नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामात्र कोभिड– १९ को संक्रमण परीक्षण गरिन्थ्यो । अहिले नेपालमा ३७ प्रयोगशालाबाट कोभिड– १९ को परीक्षण गरिन्छ । ती प्रयोगशालामा दैनिक २२ हजार पिसिआर परीक्षण गर्ने क्षमता छ ।
मन्त्रालयले सम्भावित संक्रमण बढ्नलाई मध्यनजर गर्दै २५ केन्द्र अस्पताल र २० शिक्षण अस्पतालले तुरुन्तै परिचालन गर्नसक्ने गरी विशेषज्ञसहितको टिम तयार पारेको र आवश्यकताअनुसार परिचालनसमेत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।
कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सातवटै प्रदेशमा सात हजार श्यया निर्माण गर्नका लागि ३८ करोड निकासा गरिसकेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार प्रदेश नं २ र ५ नम्बरका लागि सात/सात करोड, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई छ/छ करोड तथा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशलाई चार/चार करोड बजेट निकासा गरिसकेको छ । मन्त्रालयले गम्भीर प्रकृतिका एक हजार ५०० संक्रमितका लागि सघन उपचार कक्ष र औषधिको व्यवस्थासमेत गरेको छ ।
यस्तै दुई महिनासम्मका लागि परीक्षण गर्ने किट प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा कवच (पिपिइ)कोसमेत व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकरी दिए ।
एक हजार ७५ टिम परिचालन
यसैगरी हरेक स्थानीय तहमा संक्रमित व्यक्तिको खोज गर्नका लागि टिम गठन गरेको छ । मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङका लागि एक हजार ७५ टिम स्थानीय तहमा गठन गरेको छ । उनका अनुसार संक्रमित व्यक्तिको पत्ता लगाउन गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टिम गठन गरिएको छ । ती टिममा विशेषज्ञसहित तीन जना स्वास्थ्यकर्मीको हुनेछन् ।
यसैगरी मन्त्रालयले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । अहिलेसम्म दुई हजार ६०० सघन उपचार कक्ष र ९०० भेन्टिलेटर निर्माण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले थप २५० सघन उपचार कक्ष र भेन्टिलेटर निर्माण गरिएको तथा २४० सघन उपचार कक्ष निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।
उनले संक्रमित बढिरहेकाले लक्षण भएका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने बताए । लक्षण नभएका ६० वर्ष मुनिका व्यक्तिलाई अस्पतालमा भर्ना नगरी घरमै आइसोलेशनमा राखिने बताए ।
अहिलेसम्म ३७ प्रयोगशालाबाट चार लाख २७ हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएका छन् । अहिलेसम्म २२ हजार २१४ जनामा संक्रमण, छ हजार ३३० सक्रिय संक्रमित र १५ हजार ८१४ जना निको भएर घर फर्किसकेका छन् । निको हुने दर ७१.२ प्रतिशत रहेको छ । भने ७० जनाको कोभिड– १९ का कारणले मृत्यु भइसकेको छ ।