वीरगञ्ज । । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी सोमबार राति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना छन् । यसअघि सोमबार बिहान पनि पर्साका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रयोगशालाले दिएको जानकारीअनुसार नारायणी अस्पतालको ओपिडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना चिकित्सक र २३ वर्षीय एक युवक, भवानी हस्पिटलले पठाएको स्वाबमा वीरगञ्ज–१६ नगवाका १८ वर्षीय, वीरगञ्ज–१९ को २३ वर्ष, वीरगञ्ज–१४ का ४०, वीरगञ्ज–१५ का ३२ वर्षका पुरुष, २० र ३६ वर्षीया २ जना महिला, वीरगञ्ज– १६ भिष्वाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।