काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनको झोला फालेर भागेका भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।
साउन १३ गते स्कोर्पियो गाडीबाट सुन र पेस्तोल भएको झोला छाडेर अन्सारी फरार भएका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साले बाराको निजगढबाट पक्राउ गरेको हो ।
उक्त झोलाबाट प्रहरीले साढे १४ किलो नक्कली सुन, आधा किलो सक्कली सुन र दुईथान पेस्तोल बरामद गरेको थियो ।
सुन प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी समेत उनैको हो ।
उनी जाली नोटको कारोबारी समेत रहेको प्रहरीले जनाएको छ ।
बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् ।
उनी २०६८ असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए ।
घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ ।
युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए ।