काठमाडौं । महाकाली नदीमा रहेको पानीबारे स्वचालित यन्त्रले जानकारी दिने गरिएको छ ।
परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ ।
बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली अपनाइएको हो । पूर्वसूचना प्रणालीको यो माध्यमले सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गरेको छ । खासगरी बर्खायाममा पानी कति बढ्यो र घट्यो भनेर हेरिन्छ ।
पानीको सतह बढे पूर्वसूचनाका आधारमा उचित व्यवस्थापन गर्न र सचेत रहन मद्दत पुग्छ ।
केही दिनअघि मात्रै महाकाली नदीमा पानीको सतह निकै बढेको थियो । पानीको सतह खतरासम्म पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइन्छ । साइरन बजाएरसमेत सचेत गराइने गरेको छ । परशुरामको गेजले कञ्चनपुरको भुजेलासम्मका बासिन्दालाई सचेत रहन मद्दत पुग्ने बताइएको छ ।
स्थानीयवासी स्वयंले पनि यसबाट जानकारी लिन सक्छन् । यसले बाढीबाट हुने सम्भावित जोखिमको क्षति कम गर्न सहयोग गरेको छ । मेसिन चार्जका लागि सोलार पाता जडान गरिएको छ । यस क्षेत्रमा सञ्चालनमा आउने नेटवर्कमा नेपाल टेलिकम र एनसेलको सिमकार्ड राखिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको अनलाइनमार्फत जानकारी लिन सकिन्छ । नेटवर्कले काम नगरेका खण्डमा स्थानीयवासीलाई पनि खटाउने गरिएको छ ।
महाकाल किनारमा पानीको सतह नाप्ने गरी संरचना बनाइएका छन् । यसका आधारमा रिपोर्टिङ गरिने गेज रिडर डम्बरदत्त जोशीले जानकारी दिए ।
अन्य समयमा भने दैनिक चारपटक रिपोर्टिङ गर्नुपर्ने बताइएको छ । यसका अलवा उनले वर्षात्को समयमा पूरैदिन गेजमै बस्नुपर्ने बताए ।
कुन बेला पानीको सतह बढ्छ भन्ने पत्तो नहुने भएकाले दिनभरि नै गेजमा बसी जानकारी दिनुपर्ने उनले बताए ।
यस्तो प्रविधि नेपालका ठूला नदीमा जडान गरिएको छ । यो पूर्वसूचना प्रणालीको एक माध्यम हो । नदीमा पानीको सतह कम भएका बेला हिउँदमा नदीमा पानीको सतह मापन गरी पाइप जडान गरिन्छ । पाइपभित्र बब्लर राखिन्छ । यसले पानीको सतह बढेको वा घटेको बारे आफैँ जानकारी दिने एक स्थानीयले बताए ।
रुडुक डडेल्धुराद्वारा सञ्चालित परियोजनाले परशुराम नगरपालिका– ५ र ६ का समुदायमा समन्वय र सचेतनाका क्षेत्रमा काम गरिरहेको छ । महाकालीमा ६५ प्रतिशत पानी भारततर्फका नदीबाट आउने गरेको छ । यसले गर्दा दार्चुलामा राखिएको गेजले दिने जानकारीमा फरक पार्छ ।