काठमाडौं । धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
तीन दिनअघि ४३ वर्षीय ती पुरुषको मृत्यु भएको थियो । उनको मृत्युपश्चात अस्पतालमै स्वाब संकलन गरिएको थियो । मृतकको शव मृत्यु भएकै दिन परिवारजनलाई जिम्मा लगाइएको थियो । उनको शवलाई सोही दिन परिवारजनले अन्त्यष्टि गरेको छ ।
ज्वरो र रुघाखोकीबाट पीडित उनलाई उपचारका लागि सो अस्पताल लगिएको थियो । मृतक ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै धनुषामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ ।