बारा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ ।
बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए ।
उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै २४ घण्टा खुल्ने तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ । अत्यावश्यक कामबाहेक निषेधाज्ञा अवधिमर आफ्नो घरको कम्पाउन्डमा समेत निस्कन नपाइने विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, भारतसँग जोडिएका सीमानाकाहरुमा भदौ मसान्तसम्म आवतजावत पूर्णरुपमा बन्द गरिने भएको छ । यो आदेशको बर्खिलाप गरी सवारी साधन वा मोटरसाइकल चलाएमा वा हिडडुल गरेमा वा अनधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।