सप्तरी । बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका ३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ ।
सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करीब चार सय मिटर टाढा लगेर बलात्कार गरेको आरोपमा उजूरी दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जनाएको छ ।
पीडितकी आमाले दिएको उजूरीका आधारमा स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि दर्ता गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयले उजूरी दर्ता गरी आरोपितको तीव्रताका साथ खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी तिलक भारतीले बताउनुभयो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार स्वास्थ्य परीक्षण भएको छ ।