मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं लगायत अधिकांश स्थानमा वर्षा, केही ठाउँमा भारी वर्षा

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ ।  काठमाडौं उपत्यकामा बेलुकीपखदेखि पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए ।

मनसुन न्यूनचापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ । श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको  छ। 

आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ । 

वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज र बुधबार भारी वर्षाको सम्भावना छ । 

पश्चिम सर्ने क्रममा बुधबार कर्णाली र सुदूरपश्चिममा पनि असर गर्ने श्रेष्ठले बताए । “थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ”, मौसमविद् श्रेष्ठले भने । 

प्राप्त विवरणअनुसार आज प्रदेश १ का ताप्लेजुङ र धनकुटा तथा वाग्मती प्रदेशका रसुवा र काठमाडौंमा पानी परेको छ । गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ । 

आज प्रदेश नं. ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ । 

पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ । 

अहिले मनसुन सक्रिय नै छ । मुख्यतः सेप्टेम्बर २३ देखि मनसुन हराउँदै जाने तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्तानबाट विस्तारै फर्किँदै जाने हुन्छ । त्यसपछि मात्रै नेपालबाट हट्छ । 

“पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ”, मौसमविद् श्रेष्ठले भने, “यसपालि पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।” 

यसपालि नेपालमा औसत मनसुन रहे पनि मनसुनपूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिराका ठूलो घटना हुन पुग्यो । यसबाट जनधनको ठूलो क्षति भएको छ ।


कस्तो लाग्यो ?

यो पनि