कास्की । अविरल वर्षासँगैको गएको पहिरोका कारण कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको हो ।
कास्की रुपा गाउँपालिका –६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ : २५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको हो ।
घरभन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको थियो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीचौकी भिरचोक तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो ।
शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइँदै छ । पहिराले स्थानीय हरिराम विक, चूडामणि सुनार र माया विकको घर जोखिममा रहेकाले उनीहरुलाई अन्यत्र व्यवस्थापनको तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।