लमजुङ । मङ्गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे–बेसीशहर सडकखण्ड आज बिहान करिब ४:०० बजेदेखि सञ्चालनमा आएको छ ।
सो सडकखण्डअन्तर्गत बेसीशहर नगरपालिका–२ रानीकुवा नजिकै बोहोराबेसी माथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो ।
स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो ।
सो पहिरो बेसीशहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताए ।
पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारी साधन रोकिएका थिए ।