घोराही । दाङको घोराही उपमहानगरपालिका –१८ निवासी गणेश तामाङको शव साढे ६ महिनापछि आज परिवारले बुझेका छन् । गत वर्ष मङ्सिर १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै कामदारका रुपमा साउदी अरब पुगेका तामाङको तीन महिनापछि मृत्यु भएको खबर आएको थियो ।
तामाङ विसं २०७६ फागुन पहिलो साता आफ्नै कोठामा मृत फेला परेको जनाइएको छ । मृत्यु भएलगत्तै शव घर ल्याउन पहल गरिए पनि नसकिएको मृतक तामाङकी पत्नी जानकारी घर्तीले बताइन् । कोरोना जोखिमका कारण पटकपटक शव नेपाल ल्याउन आफूहरू वैदेशिक रोजगार विभाग र साउदीस्थित नेपाली दूतावास धाए पनि सुनुवाइ नभएकाले ढिलाइ भएको उनको भनाइ छ ।
तामाङको शव आइपुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।