काठमाडौं । म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छोडेको छ ।
बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई विभागले उधारो धरौटीमा शुक्रबार हिरासतबाट मुक्त गरेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पुष्पादेवी बिरामी भएकाले छोडेको बताएका छन् । उनले भने, ‘उनी बिरामी रहेछिन्, धुरुधुरु रोएपछि छोड्यौंँ।’ महानिर्देशक सुवेदीका अनुसार पुष्पादेवीका आफन्तले जग्गाको लालपुर्जा विभागमा बुझाएका छन् ।
आइतबार १ करोड धरौटी बुझाउने सर्तमा मुख्य आरोपी पुष्पादेवीसहित ७ जनालाई सामान्य तारेखमा छोडिएको स्रोतले बतायो । पक्राउ परेका ८ जनामध्ये भारतीय नागरिक रोनक बोथ्रा भने प्रहरी हिरासतमै छन् ।
ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिङ्गल्स र युनिलिभरका अधिकांश उत्पादनमा नयाँ लेभल लगाएको भेटिएको थियो । गुज्रिसकेको उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो । जसमध्ये भारतीय नागरिक बोथ्राबाहेक अरु सबैजना शुक्रबार नै हिरासत मुक्त भएका हुन् ।
हिरासतमुक्त हुनेमा झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मौजिलाल ठाकुरको छोराहरु मुन्ना ठाकुर र पप्पु कुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने आसाराम सिंहको छोरा श्याम प्रसाद सिंह छन् ।
यसैगरी, धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने कान्छा वयलकोटीको छोरा राम बहादुर बयलकोटी, धादिङको निलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने बुदे उपरकोटीको छोरा सिताराम उपरकोटी र धादिङको सिद्धलेख गाउँपालिका–४ भेडावारी घर भई हाल काठमाडौंको बाफल बस्ने गुन्ज बहादुर थापामगरको छोरा दिलिप थापामगर पनि हिरासतमुक्त भएका छन् ।
भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नं. १३ घर भई हाल काठमाडौंको बाफल बस्ने मागोलाल बोथ्राको छोरा ३५ वर्षीय रोनक बोथ्रा भने हिरासतमै छन् ।