काठमाडौं । सरकारले यो दशैँमा पिङ नहाल्न आग्रह गरेको छ । पिङ हालेको ठाउँमा धेरै भिडभाड हुने भएकोले सामान्य तरिकाले केटाकेटीलाई घरैमा पिङ हालेर दशैँ मनाउन आग्रह गरेको हो
यस्तै, देशका मठमन्दिरमा पनि नित्य पूजा मात्रै गर्न आग्रह गरेको छ । बिहीबार एकै दिन ४३ सयभन्दा धेरै संक्रमित भेटिएपछि मठमन्दिरहरुबाट पनि कोरोना फैलिन सक्ने भन्दै सचेत गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नजिकिँदो चाडसँगै गाउँ-सहरमा भीड बढेर अझै संक्रमण फैलिन सक्ने भएकाले सजगता अपनाउन भन्दै यस्तो आग्रह गरेका हुन् । 'मठ-मन्दिरमा नित्य पूजा मात्रै गरौँ', गौतमले बिहीबार भने, 'चाडबाडको नाममा पिङ र रोटे पिङ नहालौं, पिङले भीड बढ्ने भएकाले चाडपर्व सामान्य तरिकाले घरैमा मनाऔँ।'
काठमाडौंमा संक्रमण दर उच्च भएकाले उच्च सजगता अपनाउन आवश्यक भएको उनले बताए। गौतमले सहरी क्षेत्रमा मास्क नलगाइ बजार जाने क्रमले समस्या बढाउने उल्लेख गरेका छन् ।