काठमाडाैं । काठमाडौैंको कागेश्वरी मनोहर नगरपालिका, मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित पानीमा किरा फेला परेको छ ।
उक्त उद्योगको १९ लिटर जारको पानीमा किरा फेला परेको राष्ट्रिय उपभोक्ता मञ्चले जानकारी दिएको हो । मञ्चका अनुसार पानीमा किरा फेला पर्नुका साथै उक्त उद्योगले ५० रुपैयाँ पर्ने पानीको जारलाई ६० रुपैयाँमा बिक्रि वितरण गरेको पनि पाइएको छ ।
उक्त उद्योगलाई कारबाही गर्न उपभोक्ता मञ्चले माग गरेको छ । २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँभन्दा बढी लिन नपाइने गरी व्यवसायी, उपभोक्ता र वाणिज्य विभागबिच साउन २४ गते सहमति भएको थियो ।
तर, उपभोक्ता संरक्षण ऐन, ०७५ तथा खाद्य ऐन, २०२३ विपरीत अनुचित तथा गैरकानुनी व्यापारिक क्रियाकलाप गरेको पाइएकाले हदैसम्मको कारबाहीका लागि सरकारसँग माग गरेका उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।