उदयपुर : कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला अस्पतालका दुईवटाबाहेक सबै सेवा आइतबारदेखि बन्द गरिएको छ । शनिबार प्रादेशिक अस्पताल विराटनगरको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका रेडियोग्राफीलाई कोरोना भाइरस पुष्टि भएसँगै अत्यावश्यक (इमरजेन्सी) र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द भएको हो ।
अस्पतालले जारी गरेको सूचनामा आइतबारदेखि इण्डोर, ओपिडि, ल्याब, एक्सरे सेवा अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाइएको छ । निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर जीवनारायण मण्डलले एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएकाले थप जोखिम बढ्न नदिन तथा सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी सेवा बन्द गरिएको बताए ।
उनले भने, ' अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन गर्नुपर्ने भएकाले केही समयका लागि सेवा स्थगन गरिएको हो ।' जिल्लामा हालसम्म एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।