मंसिर ०७, २०८१, शुक्रबार
               

किशोरीलाई ललाइफकाई भारतको कोठीमा लगेर बेच्ने मुख्य अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । चार वर्षअघि १६ वर्षीया किशोरीलाई ललाइफकाई भारतको नयाँदिल्लीस्थित कोठीमा बेच्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन नियन्त्रण ब्युरोले सिन्धुपाल्चोकको मेलम्ची–६ स्थायी ठेगाना भएका ५२ वर्षीय टाउटाउ तामाङलाई गोकर्णेश्वर–५ स्थित आफ्नै घरमा  बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो  ।

तामाङले रोजगारीको प्रलोभनमा युवतीलाई दिल्लीको जिबी रोडस्थित एक कोठीमा तीन लाख रुपैयाँमा बेचेका थिए । उक्त कोठीले केही समयपछि युवतीलाई नागाल्यान्डको अर्को कोठीमा बेचेको थियो  । बेचबिखनमा परेका महिलाको उद्धारमा सक्रिय संस्था शक्ति समूहले ०७६ भदौमा युवतीको उद्धार गरेको थियो  ।

उद्धारपछि ०७६ भदौ ४ मा उनले तामाङविरुद्ध ब्युरोमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरी स्रोतका अनुसार युवती बेच्ने काममा तामाङलाई अन्य दुई जनाले पनि सघाएका थिए । ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीले उनीहरूको पनि खोजी जारी राखिएको बताए ।

गत भदौयता ब्युरोले मानव बेचबिखनमा परेका ३५ युवती र २ बालिकालाई भारतबाट उद्धार गरिसकेको छ । प्रवक्ता द्विवेदीका अनुसार धेरैजसोलाई रोजगारीको प्रलोभनमा पारेर भारत लगिएको र त्यहाँ पुर्‍याएपछि यौनजन्य गतिविधिमा संग्लन हुन बाध्य पारिएको देखिन्छ ।

त्यस्तै, असार १७ गते कुवेत, इराक र साउदीमा राम्रो काम दिलाइदिने भन्दै दिल्ली पुर्‍याएर बन्धक बनाइएका ६ महिलालाई भारतबाट संघसंस्थाको सहयोगसँगै गृहको समन्वयमा प्रहरीले उद्धार गरेको थियो ।


 


कस्तो लाग्यो ?

यो पनि