अर्घाखाँची । सन्धिखर्क नगरपालिका –४ वाङ्ला निवासी एक महिलाको कोरोनाको सङ्क्रमणका कारण आज अपराह्न मृत्यु भएको छ ।
भण्डारी पोखरा निवासी ७९ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या आएपछि आज बिहान उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएकामा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु भएको स्थानीयवासी रामजी भट्टराईले बताए ।
उपचारका सिलसिलामा गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना सङ्क्रमण देखिएको थियो । काठमाडौंमा बसोबास गर्ने उनको परिवार दशैँ मनाउन दुई हप्ताअघि आफ्नो घरमा आएको जनाइएको छ ।
त्यस्तै परासी –नवलपरासी(बर्दघाट सुस्तापश्चिम)मा आज पोखरीमा डुबेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका–४ का ३० वर्षीय छत्रमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार आज घर नजिकैको पोखरीमा डुबेको अवस्थामा चौधरीको शव फेला परेको थियो ।