चीनले हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटर वरै आफ्नै भूमिमा रहेको दाबी गरेको छ।
चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको बताएका हुन् ।
चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मेमा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित गरेको बताएका छन् ।
यस विषयमा नेपाली पक्षले प्रश्न उठाएपछि चीनले पुनः फिल्ड सर्भे गरेको ती चिनियाँ अधिकारीको भनाइ छ ।
नेपाल सरकारले पनि ती भवन चीनतर्फ निर्माण भएको जनाइसकेको छ ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अध्ययन गर्न प्राविधिक टोली पठाउन सरकारसँग माग गरिरहेको छ ।
कांग्रेसका स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरेपछि जारी गरेको विवरणमा चीनले बनाएका भवन नेपालतर्फ नै रहेको दाबी गरेको छ । भवन सीमाबाट २ किलोमिटर नेपाली भूभागतर्फ रहेको टोलीको ठहर छ ।
तर चीन सरकारले नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको छ ।
ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ ।
साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप समेत ग्लोबल टाइम्सले जनाएको छ ।